काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा राजदूत सोङले नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिदैँ सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल–चीन सडक तथा विधुत प्रसारण लाइनको जडान, चिनियाँ कम्पनीहरूले लिएका सडक र विधुत आयोजना निर्माणको प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहयोगमा चलिरहेका आयोजनाको अवस्था तथा लगानीका विषयमा छलफल गरिएको बताइएको छ।
मन्त्री घिसिङले काठमाडौं–कोदारी (अरनिको) र स्याप्रुबेंसी–रसुवागढी सडक नेपाल–चीन व्यापारका दृष्टिले महत्त्वपूर्ण भए पनि पहिरो र कमजोर भौगोलिक कारण जोखिमपूर्ण रहेको भन्दै चिनियाँ प्रविधि प्रयोग गरेर दीर्घकालीन समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले काठमाडौं उपत्यकाको चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा बन्ने कलङकी–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न आग्रह र अरुण करिडोरमा निर्माणाधीन जलविधुत आयोजनासहित किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन अगाडि बढाउन पनि आग्रह गरेका छन्।
यसैगरी, उनले चिनियाँ कम्पनीले जिम्मा लिएको कमला–कञ्चनपुर आयोजना सन्तोषजनक रूपमा अघि नबढेको भन्दै चासो प्रकट गरे र नारायणघाट–बुटवल तथा मुग्लिन–पोखरा सडक विस्तारलाई गति दिन सहयोग र सहजीकरणका लागि आग्रह गरे।
राजदूत सोङले चीन नेपालका प्राथमिकतामा आधारित क्षेत्रमा सधैँ सहकार्य गर्न तयार रहेको उल्लेख गरे। भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, विभागीय प्रमुखहरू तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति थियो।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्