जब मानव सभ्यताको विकाससँगै समाजमा बराबरी, अधिकार र न्यायका सवालहरू उठ्न थाले। असमानता, शोषण र वर्गीय विभाजनविरुद्धको आन्दोलनले इतिहासमा विभिन्न विचारधारा जन्मायो। तीमध्ये सबैभन्दा प्रभावशाली दुई सिद्धान्त समाजवाद र साम्यवाद हुन्, जसले बीसौँ शताब्दीभरि विश्व राजनीतिमा निर्णायक प्रभाव पारेका थिए। २०औं शताब्दीलाई हेर्दा विश्व राजनीति समाजवाद र साम्यवादबीचको संघर्षकै वरिपरि घुमिरहेको पाइन्छ। शीतयुद्धदेखि लिएर एशिया, अफ्रिका र ल्याटिन अमेरिकासम्म विभिन्न मुलुकहरूले यी विचारधारा आत्मसात गरे र अभ्यासमा ल्याए। तर आज, २१औं शताब्दीमा प्रवेश गरेपछि एउटा प्रश्न उब्जिएको छ, यी दुई विचारधारामध्ये कुन सही, कुन व्यवहारिक भन्ने कुराले एक खाले बहसलाई निरन्तरता दिएको छ।
समाजवाद र साम्यवादको अवधारणा युरोपको औद्योगिक क्रान्तिपछि जन्मिएको हो। समाजवादको जरा १८औँ शताब्दीको युरोपमा औद्योगिक क्रान्तिपछि देखिएको चरम असमानता र मजदुर वर्गको पीडासँग गाँसिएको छ। ठूला कारखाना र उद्योगपतिहरूले नाफा कमाउन मजदुरलाई अत्यधिक श्रम गर्न बाध्य तुल्याइरहेका थिए। मजदुर वर्गसँग शिक्षा, स्वास्थ्य वा सामाजिक सुरक्षाको सुविधा थिएन। कारखानामा सस्तो श्रममा मजदुरहरूको शोषण भइरहेका बेला केही विचारकहरूले उत्पादनका साधनहरू निजी स्वामित्वमा नभई सामूहिक नियन्त्रणमा हुनुपर्ने तर्क गरे। फ्रान्सेली विचारक हेन्री दे सेंट-सिमोन, चार्ल्स फुरिएर र रबर्ट ओवेनले समाजवादी विचारको प्रारम्भिक रूप दिएको मानिन्छ। उनीहरूले पूँजीपतिद्वारा हुने शोषणको विकल्प खोज्दै समान अवसर, सामाजिक न्याय र सहयोगमा आधारित समाजको कल्पना गरे।
तर समाजवादलाई वैज्ञानिक रूप दिने कार्य कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सजस्ता चिन्तकहरूले गरे। त्यसैलाई आधार मानेर प्रसिद्ध कृति कम्युनिस्ट म्यानिफेस्टो सन् १८४८ मा प्रकाशित भयो। यसमा इतिहासलाई वर्ग संघर्षको इतिहासका रूपमा व्याख्या गर्दै अन्ततः मजदुर वर्गले उठेर पूँजीवादलाई उल्टाइ साम्यवादमा प्रवेश गर्ने तर्क राखिएको थियो। साम्यवादलाई समाजवादको उच्चतम चरण मानियो, जहाँ निजी सम्पत्ति, राज्य र वर्गीय विभाजनको अन्त्य हुने थियो। साम्यवाद मूलतः एक चरणबद्ध प्रक्रिया थियो। मार्क्सका अनुसार पूँजीवादलाई चुनौती दिँदै पहिले समाजवाद आउँछ, जसमा राज्यले सम्पत्ति र उत्पादनका साधनलाई नियन्त्रण गर्छ र सबैलाई बराबरी अधिकार दिन खोज्छ। त्यसपछि समाजवादबाट अगाडि बढ्दै साम्यवादमा प्रवेश हुन्छ, जसमा राज्यको आवश्यकता नै हुँदैन, किनभने समाज नै पूर्ण बराबरी र वर्गविहीन हुन्छ।
इतिहासमा समाजवाद र साम्यवादबीचको भिन्नता व्यावहारिक रूपमा देखियो, जब १९१७ को बोल्सेभिक क्रान्तिपछि सोभियत संघ स्थापना भएसँगै साम्यवाद विश्वमा शक्तिशाली रूपले उदायो। लेनिनको नेतृत्वमा साम्यवादी पार्टीले सत्ता लिएपछि उत्पादनका सबै साधनहरू राज्य नियन्त्रणमा आए। त्यसपछि जोसेफ स्टालिनको समयमा साम्यवाद अझै कठोर ढाँचामा लागू गरियो। सोभियत संघले शिक्षा, स्वास्थ्य, औद्योगिक विकासमा उल्लेखनीय प्रगति गर्यो, तर राजनीतिक स्वतन्त्रता, मानवअधिकार र व्यक्तिगत स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगायो ।
दोस्रो विश्वयुद्धपछि साम्यवाद पूर्वी युरोप, चीन, उत्तर कोरिया, भियतनाम, क्यूबा जस्ता मुलुकमा फैलियो। चीनमा माओ त्सेतुङले साम्यवादी क्रान्ति सफल पार्दा कृषिमा सामूहिकिकरण र सांस्कृतिक क्रान्ति ल्याए। यसले केही क्षेत्रमा प्रगति गरे पनि ठूलो संख्यामा जनहानि, अकाल र राजनीतिक अस्थिरता निम्त्यायो। क्यूबामा फिडेल कास्त्रो र चे ग्वेवारा जस्ता नेताले अमेरिकी प्रभावविरुद्ध साम्यवादलाई मजबुत पारे।
त्यहि समयमा समाजवाद भने फरक ढंगले अघि बढ्यो। पश्चिमी युरोपका मुलुकहरूले पूँजीवादलाई पूर्ण रूपमा विस्थापित नगरी समाजवादी नीतिहरू अपनाए। विशेषगरी दोस्रो विश्वयुद्धपछि ब्रिटेन, जर्मनी, स्वीडेन, नर्वे, डेन्मार्क जस्ता देशहरूले स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा राज्यको जिम्मेवारी बनाउँदै कल्याणकारी राज्यको अवधारणा अघि सारे। यसलाई सोशल डेमोक्रेसी भनियो। यसले पूँजीवादको प्रतिस्पर्धा र निजी उद्यमलाई स्वीकारे पनि राज्यले सामाजिक न्याय र असमानता घटाउन सक्रिय भूमिका खेल्यो।
तर साम्यवाद अपनाउने मुलुकहरूमा कथा फरक रह्यो। बीसौँ शताब्दीको अन्त्यतिर साम्यवाद संकटमा पर्यो। १९९१ मा सोभियत संघ विघटन भएपछि पूर्वी युरोपका धेरै देशहरूले साम्यवादी शासनलाई त्यागे र बहुदलीय लोकतन्त्र र बजार अर्थतन्त्रतर्फ मोडे। चीनले पनि १९७८ पछि डेंग शियाओपिङको नेतृत्वमा बजारमुखी सुधारहरू ल्यायो। आज चीनलाई साम्यवादको सट्टा समाजवादी बजार अर्थतन्त्र भनिन्छ, जहाँ साम्यवादी पार्टीको राजनीतिक नियन्त्रण कायम छ तर अर्थतन्त्र पूँजीवादी प्रतिस्पर्धा र लगानीतर्फ उन्मुख छ।
क्युबामा पनि १९५९ मा फिडेल कास्त्रोको नेतृत्वमा साम्यवाद स्थापित भयो। क्युबामा शिक्षा र स्वास्थ्यमा ठूलो प्रगति भयो, तर आर्थिक रूपमा अमेरिकासँगको सम्बन्ध बिग्रँदा ठूलो अवरोध देखियो। भियतनामले पनि साम्यवादी बाटो रोज्यो, तर पछि चीनकै जस्तै आर्थिक सुधार गर्दै पूँजीवादी अभ्यासलाई पनि मिश्रित स्वरूपमा लागू गर्यो ।
अहिले संसारमा पूर्ण साम्यवादी शासन भएको मुलुक उत्तर कोरिया मात्र देखिन्छ, जहाँ राज्यले सम्पूर्ण नियन्त्रण राख्छ। तर त्यहाँ मानवीय संकट, अभाव र दमन व्यापक छ। क्यूबाले केही सुधार गर्दै निजी उद्यमलाई आंशिक अनुमति दिएको छ। भियतनामले पनि आर्थिक रूपमा बजार खुला गर्दै राजनीतिक रूपमा साम्यवादी पार्टीको नियन्त्रण कायम राखेको छ।
समाजवाद भने अझै पनि विभिन्न रूपमै जीवित छ। पश्चिमी युरोपका स्क्यान्डिनेभियन देशहरू समाजवादी नीतिहरूलाई लोकतन्त्र र पूँजीवादसँग मिलाएर सफल भए । ती देशहरूमा स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा अत्यन्तै उच्च स्तरमा छ। विश्वमै उच्च जीवनस्तर र खुशीमा अगाडि रहने यी देशहरूको मोडललाई प्रायः नॉर्डिक समाजवाद भनेर चिनिन्छ।
नेपालको सन्दर्भमा हेर्दा समाजवाद र साम्यवाद दुवैको प्रभाव गहिरो छ। नेपालमा प्रजातन्त्रपछि समाजवादको आदर्शमा आधारित संविधान बन्यो । अहिले पनि नेपालको संविधानले समाजवाद उन्मुख राज्य व्यवस्था भनेको छ। तर व्यवहारमा हेर्दा नेपालले समाजवाद वा साम्यवादभन्दा बढी मिश्रित अर्थतन्त्र अपनाएको छ, जहाँ निजी क्षेत्र र राज्य दुवैको भूमिका छ।
इतिहासमा समाजवाद र साम्यवाद दुवैलाई लिएर धेरै विवाद र संघर्ष भए। यी विचारधाराका प्रभाव र परिणाम हेर्दा समाजवाद र साम्यवाद दुवैसँग अवसर र चुनौती छन्। साम्यवादले समानता र वर्गविहीन समाजको सपना देखाए पनि व्यवहारमा कठोर अधिनायकवाद, दमन र आर्थिक असफलतासम्म पुग्यो। समाजवादले भने पूँजीवादसँग मिलेर सामाजिक सुरक्षा र जनकल्याणमा महत्वपूर्ण उपलब्धि देखायो। तर आलोचकहरूले समाजवादले पनि प्रोत्साहन र प्रतिस्पर्धा घटाउने भन्दै आलोचना गर्दै आएका छन्।
आजको विश्वमा कुन विचारधारा उपयुक्त भन्ने प्रश्नको स्पष्ट जवाफ छैन। साम्यवाद प्राय विफल भएको छ भने समाजवाद पूँजीवादसँग सहअस्तित्वमा सफल देखिएको छ। धेरै विज्ञहरूको भनाइमा भविष्यको बाटो सम्भवतः समाजवाद र पूँजीवादको मिश्रण हो, जसलाई सामाजिक लोकतन्त्र वा समाजवादी बजार अर्थतन्त्र भनिन्छ। यसले उत्पादनशीलता, प्रतिस्पर्धा र उद्यमशीलतालाई जोगाउँदै सामाजिक न्याय र समानतालाई सुनिश्चित गर्न सक्छ। स्क्यान्डिनेभियन मुलुकहरूले देखाएजस्तै समाजवादले नागरिकलाई सुरक्षित र समान अवसर दिएको छ। बेरोजगारी भत्ता, निःशुल्क शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा भत्ता जस्ता सुविधाले नागरिकलाई समुन्नत जीवन दिन मद्दत गरेको छ। यसरी हेर्दा समाजवादलाई धेरैले आजको समयमा व्यवहारिक र सफल मोडेलका रूपमा लिन्छन्।
तर यसले साम्यवाद पूर्ण असफल भयो भन्ने होइन। चीन, भियतनाम र क्युबाजस्ता मुलुकहरूले साम्यवादबाट प्रेरणा लिएर आफ्नै ढंगको साम्यवाद मोडेल विकास गरे। चीनको उदाहरणले देखाउँछ कि साम्यवादी पार्टीको नेतृत्वमा पनि आर्थिक प्रगति गर्न सकिन्छ, तर त्यसका लागि लचिलोपन आवश्यक छ।
आजको विश्वमा पूर्ण साम्यवाद भने लगभग अस्तित्वमै छैन। उत्तर कोरियाजस्ता केही मुलुकमा मात्र साम्यवादी शासन कायम छ, तर त्यहाँको अवस्थाले विश्व समुदायलाई साम्यवाद सफल भयो भन्न सक्दैन। बरु मिश्रित मोडेल, जसमा समाजवादका तत्वहरू र पूँजीवादका तत्वहरू मिलाइएका छन्, त्यस्तै देशहरूले प्रगति गरिरहेका छन्।
अब प्रश्न उब्जिन्छ, कुन विचारधारा उत्कृष्ट? इतिहासको अनुभवले देखाउँछ कि पूर्ण साम्यवादले नागरिकलाई स्वतन्त्रता दिन सक्दैन र दीर्घकालीन रूपमा आर्थिक रूपमा पनि टिकाउ हुँदैन। तर समाजवाद, विशेषगरी लोकतान्त्रिक समाजवाद, नागरिकलाई समानता र अवसर दिन सक्षम भएको छ। समाजवादले व्यक्तिगत अधिकारलाई पूर्ण रूपमा नदबाई सामाजिक सुरक्षाको ग्यारेन्टी गर्छ, जसले समाजलाई सन्तुलित राख्छ।
नेपालजस्ता विकासशील मुलुकका लागि पनि समाजवादकै बाटो बढी व्यवहारिक देखिन्छ। साम्यवादले देखाएको वर्गविहीन समाजको आदर्श सुन्दर भए पनि व्यवहारमा त्यो सम्भव देखिँदैन। बरु समाजवादले देखाएको बाटो, जसमा राज्य र निजी क्षेत्र दुवैको भूमिका रहन्छ, नागरिकलाई आधारभूत अधिकार सुनिश्चित हुन्छ र समान अवसर मिल्छ, त्यो बढी उपयुक्त देखिन्छ।
यसरी समाजवाद र साम्यवाद दुवै विचारधारा विश्व इतिहासमा गहिरो रूपमा प्रभावशाली भए। तर आजको समयले दिएको उत्तर भने स्पष्ट छ– समाजवाद नै व्यवहारिक र जनमुखी विचारधारा हो, जसले समानता र स्वतन्त्रता दुवैलाई सन्तुलनमा राख्छ। साम्यवादले दिएको योगदानलाई नकार्न सकिँदैन, तर व्यवहारमा समाजवाद नै मानिसको जीवनस्तर उकास्न सक्षम भएको प्रमाण विश्वका सफल मुलुकहरूले दिएका छन्। यधपी,कुन विचारधारा सर्वोत्तम भन्ने कुरा, कुनै पनि ठाउँको निहित समाज, त्यहाँको आर्थिक सामाजिक स्थिति , नागरिकको जीवनशैली, समय र व्यवहारमा निर्भर रहन्छ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्