चैत २५ गतेदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान संचालन हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 10, 2022
Tiphoid vaccine 648x320 1

सरकारले १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो चैतको २५ गतेदेखि वैशाखको १८ गतेसम्म एकै चरणमा देशैभरि अभियानकै रूपमा टाइफाइडविरुद्धको खोप दिने भएको हो ।

नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि अभियानकै रूपमा भने पहिलो पटक सुरु गर्न लागेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिनुभयो । खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक तयारीका काम भइरहेको अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार विश्वका धेरै देशमा १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाइसकेको भए पनि नेपालमा भने पहिलो पटक लगाउन लागिएकाले तयारी तीव्र पारिएको हो ।

आउने चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म यो खोप अभियान सञ्चालन गरिसकेपछि बालबालिकालाई लगाइँदै आइएको नियमित खोप कार्यक्रममा नै यसलाई समेट्ने उहाँले बताउनुभयो ।

खोपको उपलब्धताका साथै अरू विभिन्न खालको जटिलताका कारण नेपालमा यो खोप यस अगाडि प्रयोग गर्न सकिएको थिएन । केही समय अगाडि नेपालमा टाइफाइडविरुद्धको नयाँ खोपको क्लिनिकल ट्रायल सफल भएको थियो । कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्ज मेडिकल कलेजमा तेस्रो चरणको ट्रायल गरिएको थियो । अब त्यही खोप बालबालिकालाई लगाइने भएको हो ।

नेपालमा ट्रायल गरिएकाले भर्खरै विकसित भएको खोप भनेर नबुझ्न र आफ्ना १५ वर्षमुनिका बालबालिकालाई ढुक्क भएर खोप लगाउन डा। अधिकारीले आग्रह गर्नुभयो । खोप अभियान सञ्चालनका लागि अहिले विभिन्न पालिकाहरूले विद्यार्थीको विवरण माग गरेका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५