काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकलाई समयमा तलब उपलब्ध गराउन चेतावनी दिएका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत दुईवटा सूचनापत्र जारी गर्दै तलब रोक्ने प्रधानाध्यापक र स्थानीय तहलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।
पहिलो सूचनामा मन्त्री पुनले विद्यालयका प्रधानाध्यापकलाई सम्बोधन गर्दै तलब निकासा भइसकेको हुँदा शिक्षकलाई कुनै बहानामा तलब नदिने कार्य सह्य नहुने बताएका छन्। उनले दशैं–तिहारको अवसरमा शिक्षकले तलब नपाएको गुनासो आइरहेको भन्दै भोलिसम्ममा तलब वितरण नगर्ने प्रधानाध्यापकलाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारे।
त्यसपछी उनले अर्को सूचना जारी गर्दै स्थानीय पालिकाहरूलाई खबरदारी गरेका छन्। पालिकामा मन्त्रालयले पठाएको बजेट भए पनि शिक्षकले तलब नपाएको गुनासो आएको भन्दै उनले पालिकालाई भोलिसम्ममा बाँकी तलब वितरण गर्न निर्देशन दिएका छन्। उनले चेतावनी दिँदै भने, “अन्यायपूर्ण ढंगले तलब रोकिने हो भने सम्बन्धित पालिकालाई समेत नियमअनुसार कारबाही हुनेछ।”
मन्त्री पुनले सार्वजनिक रूपमा दिएको यस्तो चेतावनीपछि अब प्रधानाध्यापक र स्थानीय तहले तुरुन्तै बाँकी तलब निकासा गर्नुपर्ने दबाब परेको छ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्