कालिकोट प्रशासनद्वारा भारतीय नागरिकलाई अवैध रुपमा नेपाली नागरिकता प्रदान

  • नेपाल राष्ट्रिय दैनिक
  • September 8, 2025
nepali citizenship certificate

कालिकोट — कालिकोट जिल्ला प्रशासन कार्यालयले भारतीय नागरिकलाई अवैध रुपमा नेपाली नागरिकता प्रमाणपत्र जारी गरेको घटना सार्वजनिक भएको छ।

शान्नित्रिवेणी गाउँपालिका–५ का जिरबहादुर शाहीले भारतीय नागरिकलाई आफ्नै सन्तानको रुपमा देखाई नागरिकता दिलाएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार जिरबहादुरलाई उनका साला चित्त बहादुर बमले भारतीय नागरिकलाई आफ्ना छोरा बनाएर नागरिकता दिलाउन सहयोग र सुझाव गरेको बुझिएको छ । सबै कागजात तयार गरी असार २३ गते ति भारतीय नागरिकलाई छोरा शंकर शाही कायम गराई आधिकारिक रुपमा नेपाली नागरिकता दिइएको हो।

करिब एक महिना पछि वडाध्यक्ष रामराज बमले घटनाबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिए। त्यसपछि प्रहरीले जिरबहादुर र चित्त बहादुरलाई साउनमा पक्राउ गरेको थियो। नागरिकता प्राप्त गरेका भारतीय नागरिक भने फरार छन्।

कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्मा भन्छन्, “वडाको सिफारिस र सबै कागजात मिलेकै देखिएपछि मैले नागरिकता जारी गरेको थिएँ। वडाध्यक्षले जानकारी दिएपछि मात्र भारतीय नागरिकको कुरा थाहा पाएँ।”

प्रहरीले जनाए अनुसार चित्त बहादुरले आफ्ना साला जिरबहादुरलाई प्रलोभनमा पारी भारतीयलाई छोरा बनाएर नागरिकता दिलाएका हुन्।

सम्बन्धित तीन पक्षहरू, वडाध्यक्ष रामराज बम, जिरबहादुर शाही र चित्त बहादुर बमलाई थुनछेक आदेशपछि धरौटीमा छाडिएको छ। कालिकोट जिल्ला अदालतले रामराज बमको धरौटी ७५ हजार, जिरबहादुर र चित्त बहादुरको धरौटी २ लाख ५० हजार तोकेको छ। रामराज बमले रकम बुझाएर रिहा भएका छन् भने जिरबहादुर र चित्त बहादुरले अझै धरौटी बुझाएका छैनन्।

संबन्धित निकायले यस मामिलाको अनुसन्धान नागरिकता ऐन २०६३ अन्तर्गत गर्ने जनाएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५