श्रावण २३, काठमाडौँ- सुन तस्करी प्रकरणमा गृहमन्त्रीको जवाफ चित्त नबुझेको र सरकारबाट उच्चस्तरीय छानबिन समिति गठनको प्रतिवद्धता नआएको भन्दै नेकपा एमालेले प्रतिनिधिसभा बैठक पुन:अवरुद्ध गरेको छ।
नेकपा एमालेको अवारोधका कारण १३ दिनपछि मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिँदा उच्चस्तरीय छानबिन समिति गठनको प्रतिवद्धता नआएको भन्दै एमालेले सदन अवरुद्ध गरेको हो।बैठकमा एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन सहमति गठन नभएसम्म विरोध जारी रहने बताएका छन्।
यता, गृहमन्त्री श्रेष्ठले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुसन्धानका लागि ३५ दिनको समय रहेको र त्यस क्रममा टुंगो नलागे वा कसैलाई जोगाउन खोजेमा नयाँ शिराबाट बहस गर्न सकिने र नयाँ छानबिन समिति गठन गर्न सरकार तयार रहेको बताएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्