पशुपतिनाथ मन्दिरको जलहरीमा सुन बाहेक अन्य धातुको मिसावट बढी रहेको आशंका

  • नेपाल राष्ट्रिय दैनिक
  • १२ असार २०८०, मंगलवार २२:५३
Pashupatinath temple 777x437 1

पशुपतिनाथ मन्दिरको ज्योतिर्लिंग (गर्भगृह) मा राखिएको जलहरीको तौल परीक्षणको क्रममा मुचुल्कामा लेखिएको भन्दा फरक पाइएपछि जलहरी राख्ने क्रममा चलखेल भएको र जलहरिको तौल मात्र नभएर जलहरीमा अन्य धातुको मिसावट कति छ भन्ने विषय समेत स्पष्ट हुनुपर्ने कोषका पूर्वअधिकारीले बताएका छन् ।

२ वर्ष अघि मुचुल्कामा भन्दा कम परिमाणमा देखिएको जलहरि अहिले बढी देखिँदा त्यसमा सुन बाहेक अन्य धातु बढी मात्रामा मिसाइएको अनुमान गरिएको छ।

करिब साढे दुई वर्षअघि उठाइएको मुचुल्कामा ९६ केजी ८२२ ग्रामको जलहरी बनाइएको र बाँकी सुनका टुक्राबाट रिङ बनाएर त्यसमा लगाइएको उल्लेख छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार गरेको परीक्षणमा जलहरीको तौल १०७ केजी ४६८ ग्राम पाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले भने १०७ केजी ९२४.७५ ग्रामको जलहरी राख्ने निर्णय गरेको थियो ।जलहरी राख्नुअघि तयार गरिएको मुचुल्काको विवरणमा शंकास्पद रूपमा केरमेट र अंक घटबढ गरिएको देखिन्छ । जलहरी राख्दा उपस्थिति जनाइएका केही व्यक्तिको मुचुल्कामा हस्ताक्षर पनि छैन ।

नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा १०३ केजी ७७३ ग्राम सुन खरिद गरेर अपारदर्शी रूपमा जलहरी तयार पारिएको भन्दै कोषका तत्कालीन पदाधिकारीविरुद्ध २०७८ मै अख्तियारमा उजुरी परेको थियो ।

महालेखा परीक्षकको कार्यालयले अनुसन्धान गरि तयार गरेको प्रतिवेदनमा राष्ट्र बैंकबाट किनिएको १०३ केजी ७७३ ग्राम सुनमा २ केजी ८९० ग्राम तामा, १ केजी २४९ ग्राम चाँदी, १२.७५ ग्राम जिंकसहित राखेर १०७ केजी ९२४.७५ ग्रामको जलहरी बनाइएको भनिए पनि त्यसको रिङमा प्रयोग गरिएको सुनको परिमाण पुष्टि हुने विवरण नभएको उल्लेख छ ।

जलहरीको तौल २०७७ फागुन ११ को मुचुल्कामा उल्लेख गरिएभन्दा फरक पाइएको हो । मुचुल्कामा रिङमा प्रयोग भएको सुनको परिमाण खुलाइएको छैन ।

यस प्रकरणमा मुछिएका कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडासँग मुचुल्काको विवरण र अख्तियारले लिएको तौलमा किन फरक पर्‍यो भन्ने जिज्ञासा राख्दा ‘यस विषयमा अहिले नबोलौं’ भन्दै उनी पन्छिए ।

कोषका पूर्वअधिकारी भने ढिलो गरेर जलहरीको परीक्षण गरिएको र आरोपित बहालमै रहेको भन्दै आरोपिलाई चोख्याउन ‘चलखेल’ भइरहेको आशंका गरिरहेका छन्। कोषका पूर्वसदस्यसचिव गोविन्द टण्डनले जलहरिको तौल मात्र नभएर जलहरीमा अन्य धातुको मिसावट कति छ भन्ने विषय समेत स्पष्ट हुनुपर्ने बताएका छन्।

कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले जलहरी निर्माणका लागि कालिगडलाई गरिएको ज्याला भुक्तानी पनि शंकास्पद रहेको बताएका छन् ।

‘जलहरी राख्ने अनुमति पाएको कोषले गर्भगृहमा १० केजीभन्दा बढी सुनका रिङ राख्न कोबाट अनुमति लियो ?’ उनले भने, ‘जलहरी राख्ने क्रममा प्राचीन स्मारकसम्बन्धी कानुन पनि मिचिएको बताएका छन्।

सम्बन्धित समाचार:

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५