नागरिकता विधेयकको विषयमा राष्ट्रपतिद्वारा चालिएको कदमलाई लिएर यतिखेर काठमाडौँको सडकमा दुई भिन्न दृश्यहरु देखिएको छ।
नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध र समर्थनमा दुई अलग-अलग समूह सडकमा उत्रिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दल निकट विद्यार्थी संगठनहरूले काठमाडौंमा संयुक्त रूपमा प्रदर्शन सुरु गरेका छन्। राष्ट्रपतिको कदमको विरोध गर्दै उनीहरुले राष्ट्रपतिको पुत्ला जलाउने देखि राष्ट्रपति विरुद्द नाराबाजी गरेका छन्। उनीहरुले, राष्ट्रपतिको कदमले संसदको अपमान गरेको र संविधानको पालना नगरेको भन्दै राष्ट्रपतिले राजिनामा दिनुपर्ने बताएका छन्।

मधेश प्रदेशको राजधानी जनकपुरमा पनि जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले राष्ट्रपतिको कदमको विरोध गर्दै छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।

अर्कोतिर, एमाले समर्थित विद्यार्थी संगठन र भातृ संस्थाहरुले, राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रियताको रक्षा गर्नुभएको भन्दै, राष्ट्रपतिको समर्थनमा जुलुस र र्याली गरेका छन्। संसदलाई पुनर्विचार गर्न फिर्ता गरिएको विधेयक,गठबन्धन दललाई बालुवाटारमा बसेर निर्णय गर्ने अधिकार संविधानले नदिएको र सरकारमा बहुमत छ भन्दैमा,नागरिकता जस्तो संवेदनशील विषयमा एकलौटी रुपमा निर्णय गर्न नमिल्ने बताएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्