हैजाको प्रकोप फैलन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह:काठमाडौँका ४ जनामा हैजाको पुष्टि

  • नेपाल राष्ट्रिय दैनिक
  • June 22, 2022
haija

काठमाडौंका विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारैजनाको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिए । उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक–एकजनामा हैजा देखिएको छ । उनले भने, ‘फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुन सक्छ । काठमाडौं हैजाको जोखिममा रहेको देखियो । ’

विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उनले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका बिरामी खोजिरहेको बताए । बागबजारका दुईजना १८ र २३ वर्षीय युवतीमा यही असार ५ गते र भोटेवहाल र डिल्लीबजारमा एक–एकजनामा मंगलबार देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको भन्ने पत्ता लगाउन जनस्वास्थ्य अधिकृत रामकृष्ण फुँयालको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन गरेको छ । महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सनसमेत रहेका फुँयालले फोहोरको प्रकोप बढेर खानेपानीका प्रदूषण भएर हैजा रोग देखिएको बताए । उनले बागबजारको पानीको तीनवटा नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिए ।

उनका अनुसार एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र ट्युबवेलको पानीको नमुना परीक्षण गरिएको छ । उनले पानीको कारणले हैजा भएको आफूले शंका गरे पनि परीक्षणको रिपाेर्ट नआएकन केही भन्न नसकिने बताए । उनले बागबजारका दुईजना युवतीले जार र धाराको पानी नउमालीकन खाने गरेको पाइएको बताए । असार २ गते चटपटे खाएपछि ती युवतीलाई उल्टी गर्नुको साथै पखाला लागेको थियो ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने हुँदा सबैलाई सजग र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ । मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रूपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुन अनुरोध गरिएको छ । रासस

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५