काठमाडौंका विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारैजनाको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिए । उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक–एकजनामा हैजा देखिएको छ । उनले भने, ‘फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुन सक्छ । काठमाडौं हैजाको जोखिममा रहेको देखियो । ’
विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उनले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका बिरामी खोजिरहेको बताए । बागबजारका दुईजना १८ र २३ वर्षीय युवतीमा यही असार ५ गते र भोटेवहाल र डिल्लीबजारमा एक–एकजनामा मंगलबार देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको भन्ने पत्ता लगाउन जनस्वास्थ्य अधिकृत रामकृष्ण फुँयालको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन गरेको छ । महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सनसमेत रहेका फुँयालले फोहोरको प्रकोप बढेर खानेपानीका प्रदूषण भएर हैजा रोग देखिएको बताए । उनले बागबजारको पानीको तीनवटा नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिए ।
उनका अनुसार एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र ट्युबवेलको पानीको नमुना परीक्षण गरिएको छ । उनले पानीको कारणले हैजा भएको आफूले शंका गरे पनि परीक्षणको रिपाेर्ट नआएकन केही भन्न नसकिने बताए । उनले बागबजारका दुईजना युवतीले जार र धाराको पानी नउमालीकन खाने गरेको पाइएको बताए । असार २ गते चटपटे खाएपछि ती युवतीलाई उल्टी गर्नुको साथै पखाला लागेको थियो ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने हुँदा सबैलाई सजग र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ । मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रूपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुन अनुरोध गरिएको छ । रासस
आफ्नो प्रतिक्रिया दिनुहोस्