निर्वाचन आयोगले स्थानिय तह निर्वाचनलाई मर्यादित बनाउनको निम्ति निर्वाचन आचारसंहिता लागु गरेको छ। तर निर्वाचनमा भाग लिएका दल र तिनका उम्मेद्वार तथा कार्यकर्ताहरु मात्रै नभएर प्रधानमन्त्री आँफै नै निर्वाचन आचारसंहिताको धज्जी उडाएर चुनावी प्रचार-प्रसारमा देश दौडाहामा निस्किएका छन्।
राज्य संयन्त्रले तयार गरेको विधी-विधान र नियमकानुनको मर्यादा पालकको रुपमा रहनुपर्ने सरकार नै आफ्नो मर्यादालाई बिर्सिएर अगाडी बढ्दा देश चलाउने अभिभावकत्व बोकेको सरकार र तिनको नैतिकता माथि नै प्रश्न चिन्ह खडा भएको छ।
सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा बिराटनगर हुँदै चितवन पुग्नुभएको प्रधानमन्त्री देउवाले राज्यको श्रोत साधनको दुरुपयोग गर्दै पार्टीको चुनावी अभियानमा जनताले तिरेको कर र त्यसबाट परिचालित सरकारी संयन्त्र र स्रोत साधन को उपयोग गरेर त्यहि चुनावी सभामा उभिएर देश र जनताको सर्वोत्तम हितको कुरा गर्नु जतिको भद्दा मजाक अरु के हुन सक्छ ?
तर प्रधानमन्त्रीको हैसियतमा नभएर कुनै एउटा राजनीतिक दलको नेताको हैसियतमा चुनावी प्रचारमा लागेको भन्दै गर्दा, नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर अगाडी पछाडी सुरक्षाकर्मीको लर्को लगाएर पद र राज्यसंयन्त्रको दुरुपयोग गर्दै चुनावी प्रचारमा हिंड्नु भने नितान्त आचारसंहिताको उल्लंघन हो।

आफ्नो प्रतिक्रिया दिनुहोस्